२०८३ मंसिर ३ , बुधबार

कालिकोटका सञ्चार टावरमा विद्युत् विस्तार हुँदै, महावैमा काम सुरु



जगदिश शाही

कालिकोट। लामो समयदेखि सोलार प्रणालीको भरमा सञ्चालन हुँदै आएका कालिकोटका सञ्चार टावरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याउने पहल अघि बढाइएको छ। सोलार प्रणाली कमजोर हुँदा तथा मौसम प्रतिकूल बनेपछि नेटवर्क सेवा अवरुद्ध हुने समस्या समाधान गर्ने उद्देश्यले टावरमा विद्युत् जडानको काम अघि बढाइएको हो।

कालिकोटको पूर्वी क्षेत्रअन्तर्गत शुभकालिका गाउँपालिका–सुकाटिया तथा तिलागुफा नगरपालिका–हरिचौर र ढिम्नियामा रहेका सञ्चार टावरमा विद्युत् जडानका लागि पहल थालिएको छ। सोलार प्रणालीले प्रभावकारी रूपमा काम नगर्दा सञ्चार सेवा प्रभावित हुन थालेपछि विद्युत् जडानको प्रक्रिया अघि बढाइएको हो।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख इन्जिनियर हरेन्द्रराय यादवका अनुसार ती क्षेत्रमा रहेका सञ्चार टावरसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याउने काम अघि बढाइएको छ। भौगोलिक विकटताका कारण विद्युत् पोल तथा तार विस्तारमा कठिनाइ भए पनि कामलाई प्राथमिकतामा राखिएको छ।

यसअघि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कात्तिक १८ गते बसेको बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सञ्चार टावरमा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाका विभिन्न वडामा रहेका सञ्चार टावरमा विद्युत् आपूर्ति विस्तारको विषय उठाइएको थियो। विशेषगरी नरहरिनाथ–४, पलाँता–२ र ४ तथा पचालझरना–५ र ६ का टावरमा विद्युत् लाइन विस्तारका लागि पहल गर्ने निर्णय गरिएको थियो।

यसैबीच, महावै गाउँपालिकाका विभिन्न वडामा रहेका सञ्चार टावरमा पनि विद्युत् जडान गर्ने काम सुरु भएको छ। स्थानीय युवाहरूको अगुवाइमा केही दिनअघिदेखि काम थालिएको गाउँपालिका अध्यक्ष खेम सिंहले जानकारी दिएका छन्। उनका अनुसार बाँकी वडामा रहेका टावरमा समेत विद्युत् जडानका लागि आवश्यक पहल र समन्वय भइरहेको छ।

अध्यक्ष सिंहका अनुसार यो अभियान कुनै व्यक्तिगत प्रचार वा स्वार्थका लागि नभई नागरिकलाई नियमित, प्रभावकारी र भरपर्दो सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको हो। सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय भएकाले यसको सुधार र विस्तारमा स्थानीय युवा, जनप्रतिनिधि तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

कालिकोटका दुर्गम बस्तीमा सञ्चार टावर सोलार प्रणालीमा निर्भर हुँदा घाम नलाग्ने, बाक्लो हुस्सु लाग्ने तथा वर्षायाममा नेटवर्क सेवा प्रभावित हुने समस्या देखिँदै आएको छ। यसको असर सर्वसाधारणको दैनिक सञ्चारसँगै अनलाइन शिक्षा, बैंकिङ कारोबार, स्वास्थ्य सेवा तथा सरकारी कामकाजमा समेत पर्ने गरेको छ।

टावरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएपछि सञ्चार सेवा नियमित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ। तर विद्युत् जडानसँगै टावरको नियमित सञ्चालन र नेटवर्कको गुणस्तर सुधारमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।

जिल्लाका विभिन्न स्थानमा अघि बढाइएको विद्युत् विस्तार र महावैमा स्थानीय युवाको अगुवाइमा सुरु भएको अभियानले कालिकोटको सञ्चार सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ३ गते बुधबार