२०८३ कात्तिक ३० , आइतबार

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक सेवामा लगाउँदै कञ्चन कर्णाली युवा क्लब



जगदिश शाही

दैलेख ।चाडपर्वका अवसरमा देउसी–भैलो खेलेर सङ्कलन गरिएको रकम सामाजिक सेवामा खर्च गर्दै श्री कञ्चन कर्णाली युवा क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।

क्लबका अध्यक्ष नरेश खड्काको नेतृत्वमा गएको टोलीले दुल्लु नगरपालिका–५ निवासी युवराज न्यौपानेका छोरा डेभिड न्यौपाने र दिलीप थापाका छोरा दियान्स थापालाई नगद १० हजार १० रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

देउसी–भैलोबाट सङ्कलित रकम मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवामा सदुपयोग गर्ने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ । चाडपर्वका अवसरमा सङ्कलित रकमलाई मानवीय सहयोगमा परिचालन गर्ने क्लबको पहलले सामाजिक सेवाप्रतिको युवाहरूको जिम्मेवारीलाई समेत उजागर गरेको छ ।

क्लबका अध्यक्ष खड्काले समाजसेवा, मानवीय सहयोग र सकारात्मक सामाजिक रूपान्तरणका लागि आफू र आफ्नो नेतृत्वमा रहेको क्लब सदैव समुदायसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजमा आवश्यक पर्ने हरेक सकारात्मक कार्यमा क्लबको साथ, सहयोग र सहभागिता निरन्तर रहने उल्लेख गर्दै उनले बोलीमा मात्र सीमित नभई कर्ममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहेको बताएका छन् ।

सेवा, सहयोग र सामाजिक रूपान्तरणको यात्रामा क्लब सदैव समुदायको साथमा रहने अध्यक्ष खड्काको भनाइ छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार