धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै हातले अन्तिम बिदाइ गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् अछामका गंगाराम बुढा ।
ढकारी गाउँपालिका-१ बासल्लाका गंगारामका २८ वर्षीय छोरा बिर्ख बुढाको उपचारका क्रममा शनिबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो । शुक्रबार साँझ करिब साढे ७ बजे स्थानीय पसलबाट घर फर्किने क्रममा बिर्ख भीरबाट खसेका थिए । दुर्घटनापछि उनलाई राति नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।
चिकित्सकले थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिएका थिए । तर, आर्थिक अभावका कारण गंगारामले छोरालाई अन्यत्र लैजान सकेनन् । छोरा बचाउने आशामा उनले २० हजार रुपैयाँ तिरेर जीपसमेत बुक गरेका थिए । तर, उपचारकै क्रममा शनिबार बिहान सवा ९ बजेतिर बिर्खले संसार छाडे ।
गंगाराम अहिले यस्तो पीडामा छन्, जहाँ गरिबीले शोकमा डुबेको परिवारलाई झन् असहाय बनाएको छ । छोरालाई उपचारका लागि गाउँबाट सदरमुकाम ल्याउँदा लागेको जीप भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेका उनका लागि अब छोराको शव गाउँ पुर्याउनु अर्को ठूलो चुनौती बनेको छ । आर्थिक अभावकै कारण मृत छोराको अन्त्येष्टि गर्न नसक्ने अवस्थामा छन् उनी ।
छोराको मृत्यु भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरी कार्यालयमा पेस गर्नुपर्ने जाहेरी लेखाउन वकिललाई शुल्क तिर्नसमेत उनीसँग पैसा छैन । एकातिर छोराको शव, अर्कोतिर आर्थिक अभाव र कानुनी प्रक्रियाको झन्झटले उनी सदरमुकाम मंगलसेनमै छटपटाइरहेका छन् ।
बिर्ख गंगारामका घरका जेठा छोरा थिए । परिवारको जिम्मेवारी उनकै काँधमा थियो । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका उनी पाँच महिनाअघि मात्रै घर फर्किएका थिए । त्यसयता गाउँमै ज्यालामजदुरी गर्दै आएका थिए । तर, दिनभरि पसिना बगाएर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल थियो ।
बिर्खको असामयिक निधनपछि गंगारामका तीन साना छोरा छन् । उनीहरू पाँच, सात र ११ वर्षका छन् । जेठा छोराको शव गाउँ पुर्याएर आफन्त र परिवारको उपस्थितिमा अन्तिम संस्कार गर्ने गंगारामको इच्छा छ । तर, इच्छाले मात्रै नहुने रहेछ । त्यसका लागि पनि पैसा चाहिने बाध्यता उनको जीवनमा आइपरेको छ ।
अछामका पत्रकार वेदप्रकाश तिमिल्सिनाले गंगारामको दयनीय अवस्थाबारे जानकारी पाएपछि अन्त्येष्टिका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पहल थालेका छन् । उनले बिर्खको अन्त्येष्टि गर्न सहयोग गरिदिन सबैसँग अपिलसमेत गरेका छन् ।
छोराको मृत्युको पीडा त गंगारामले सहनैपर्ने भयो । तर, गरिबीका कारण आफ्नै सन्तानलाई अन्तिम बिदाइ गर्नसमेत नपाउने अवस्था कति पीडादायी होला ? अहिले गंगारामको एउटै याचना छ– आर्थिक सहयोग जुटोस् र मृत छोरालाई गाउँ लगेर अन्तिम संस्कार गर्न सकियोस् ।