जगदिश शाही
रुकुम पूर्व । ‘हेलो प्रचण्ड बाजे, कहाँ हुनुहुन्छ ? हाम्रो गाउँको भत्केको पुल बनाइदिनुहोस्’ भन्दै सामाजिक सञ्जालमा भिडियो बनाएर चर्चामा आएकी १५ वर्षीया किशोरी सदीक्षा ओलीले अन्ततः आफ्नै प्रयासमा काठको पुल निर्माण गरेकी छन्।
भूमे गाउँपालिका–९, लुमा गाउँकी सदीक्षा ओलीले स्थानीय दोमै खोलामा करिब चार मिटर लामो काठको पुल निर्माण गरेकी हुन्। गाउँको भत्किएको पुल पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्दै भिडियो सार्वजनिक गरेकी उनी आफैँ पुल निर्माणमा जुटेकी हुन्।
सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएपछि गाउँको समस्याले व्यापक चर्चा पाएको थियो। तर पुल निर्माणको आश्वासन पर्खेर बस्नुभन्दा उनले आफ्नै कमाइ र प्रयासबाट समस्या समाधान गर्ने बाटो रोजिन्।
सदीक्षाले फेसबुकबाट कमाएको करिब ६० हजार रुपैयाँ खर्च गरेर पुल निर्माण गरेकी हुन्। उनले छ दिन लगाएर काठको पुल तयार पारेकी बताइएकी छन् । पुल निर्माणसँगै खोलामा वारपार गर्नुपर्ने स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।
पुल निर्माणका लागि आग्रह गर्दै उनले प्रचण्डलाई लक्षित गरेर प्रश्नसमेत गरेकी थिइन्, ‘तपाईं यहाँबाट चुनाव जितेर जानुभयो, तर हाम्रो गाउँको पुल बनाउन कहिले आउनुहुन्छ ?’ उनको यो प्रश्नले गाउँका आधारभूत समस्या र जनप्रतिनिधिको जिम्मेवारीप्रति ध्यानाकर्षण गराएको थियो।
सानै उमेरमा सामाजिक सञ्जालबाट कमाएको रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी गाउँको आवश्यकताका लागि लगानी गर्ने उनको निर्णयले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
नेताहरूका ठूला भाषण, आश्वासन र विकासका प्रतिबद्धताबीच गाउँको एउटा भत्किएको पुलसमेत समयमै निर्माण हुन नसकेको अवस्थामा १५ वर्षीया किशोरीले आफ्नै कमाइ र प्रयासबाट पुल बनाउनु आफैँमा अर्थपूर्ण उदाहरण बनेको छ।
विकासका कुरा भाषणमा सीमित राख्नुभन्दा नागरिकका वास्तविक समस्या समाधान गर्न व्यवहारमै काम गर्नुपर्छ भन्ने सन्देश सदीक्षाको यो प्रयासले दिएको छ। उमेरले सानो भए पनि सामाजिक जिम्मेवारी र सामुदायिक हितप्रतिको उनको अग्रसरता धेरैका लागि प्रेरणादायी बनेको छ।