जगदिश शाही
डोल्पा । डोल्पास्थित जिल्ला कारागार कार्यालयबाट सुरुङ खनेर फरार भएका दुई जना थुनुवा अझै फेला पर्न सकेका छैनन्। उनीहरूको खोजी कार्यलाई तीव्र बनाउन प्रहरीले फोटोसहितको व्यक्तिगत विवरण सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फरार हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबीसकोट नगरपालिका–३ का ३२ वर्षीय निशान भन्ने आदेश भण्डारी रहेका छन्।
उनीहरू गत कात्तिक १४ गते राति कारागारबाट फरार भएका थिए। कारागारभित्रबाट सुरुङ खनेर बाहिर निस्किएको घटनापछि प्रहरीले फरार कैदीबन्दी तथा थुनुवाहरूको खोजी कार्य अघि बढाएको थियो।
प्राप्त विवरणअनुसार उक्त घटनामा आठ जना कारागारबाट फरार भएका थिए। फरारमध्ये छ जना पक्राउ परिसकेका छन् भने तिलक भण्डारी र आदेश भण्डारी अझै प्रहरीको नियन्त्रणबाहिर रहेका छन्।
प्रहरीले उनीहरूको पहिचान खुल्ने फोटोसहित नाम, उमेर र ठेगाना सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। उनीहरूलाई कतै देखेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
कारागारबाट एकैपटक आठ जना फरार भएको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको थियो। घटनापछि सुरक्षा निगरानी र फरार व्यक्तिहरूको खोजीलाई प्रहरीले प्राथमिकतामा राखेको छ।