जगदिश शाही
दैलेख । दैलेखको दुल्लु नगरपालिकामा सञ्चालन भएको ऐतिहासिक प्रथम दुल्लु प्रिमियर लिग (DPL) टी–२० क्रिकेट प्रतियोगिता छैटौँ दिनमा सम्पन्न भएको छ। प्रतियोगिताको समापनसँगै विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरिएको छ।
कञ्चन कर्णाली युवा क्लबको आयोजना तथा एवाईसी नेपालको सहआयोजनामा जिल्ला क्रिकेट संघ दैलेखको समन्वय र दुल्लु नगरपालिका तथा दुल्लु नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको थियो। कात्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको उपाधि दुल्लु नगरपालिका वडा नं. ९ को टोलीले जितेको छ भने वडा नं. ७ को टोली उपविजेता बनेको छ। विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीलाई नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
समापन समारोहमा दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले स्थानीयस्तरमा खेलकुदको विकास र प्रतिभावान खेलाडीको पहिचानका लागि डीपीएल महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय युवाले खेलकुदमा देखाएको सक्रियतालाई संस्थागत गर्दै खेलाडीको क्षमता विकास र अवसर विस्तारमा जोड दिनुपर्ने धारणा राखे।
उनका अनुसार स्थानीयस्तरमा रहेका प्रतिभालाई उचित अवसर र प्रशिक्षण उपलब्ध गराउन सके उनीहरूलाई जिल्ला तथा प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धामा पुर्याउन सकिन्छ। यस्ता प्रतियोगिताले युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्नसमेत सहयोग पुग्ने उनले बताए।
त्यस्तै, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य पवनकुमार थापाले कर्णालीमा खेलकुदको सम्भावना रहेकाले स्थानीय प्रतिभालाई पहिचान गरी आवश्यक अवसर, प्रशिक्षण र प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताए। खेलकुदलाई खेल प्रतियोगितामा मात्र सीमित नराखी खेलाडीको भविष्य निर्माणसँग जोड्नुपर्ने उनको भनाइ थियो।
आयोजक कञ्चन कर्णाली युवा क्लबका सभाध्यक्ष नरेश खड्काले समापन गर्दै दुल्लु क्षेत्रमा क्रिकेटको विकास गर्ने र स्थानीय प्रतिभालाई खेलकुदमार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहयोगी दाता, प्रायोजक, खेलाडी, खेलप्रेमी दर्शक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे।
आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र भव्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
पहिलो संस्करणमै १० टोलीको सहभागितामा सम्पन्न प्रतियोगिताले दुल्लु क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण र स्थानीय युवाको खेलकुदप्रतिको रुचिलाई थप उजागर गरेको छ। प्रतियोगिताले स्थानीयस्तरमा रहेका प्रतिभावान खेलाडीको पहिचान गर्दै उनीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।