२०८३ कात्तिक २० , बिहीबार

बालेन सरकार बिचौलियामैत्री भएको जेनजी अभियानको आरोप



जगदिश शाही 

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार किसान, गरिब तथा युवामैत्री हुन नसकेको आरोप लगाएको छ। अभियानले सरकार दलाल तथा बिचौलियाको पक्षमा उभिएको दाबी गर्दै सरकारका पछिल्ला निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अभियानका पदाधिकारी तथा सदस्यहरूले सरकारको कार्यशैली, सुशासन, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएका हुन्।

पत्रकार सम्मेलनमा अभियानका प्रवक्ता वीरजन विश्वकर्माले सरकारको नीति तथा नियतमाथि प्रश्न उठाउँदै महँगी नियन्त्रण, शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँचलगायतका विषयमा सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए।

उनले प्रधानमन्त्री बालेन शाहले चुनावका क्रममा सहयोग गरेका व्यक्तिहरूको भूमिकामाथि समेत प्रश्न उठाउँदै इनम सापकोटालाई बिचौलियाको भूमिका निर्वाह गरिरहेको आरोप लगाए।

त्यस्तै, अभियानका सचिव प्रकाश बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जेनजी आन्दोलनका माग र मुद्दा सम्बोधन गर्न नसकेको बताए। सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको सवालमा चुकेको उनको भनाइ छ ।

प्रधानमन्त्रीको भूमिसम्बन्धी अभिव्यक्तिप्रति टिप्पणी गर्दै बमले सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका नेपाली भूभागको विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने बताए।

उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने विषयले सुरक्षा निकायको मनोबलमा असर पार्ने दाबी गर्दै सरकारलाई जनताको समस्या र युवाका मुद्दाप्रति जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा अभियानका सदस्यहरू अमृत के. बोहरा, प्रदीप भट्टराई, सफलता बोगटी र सुनिल विकलगायतले पनि सरकारका विभिन्न नीति तथा निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

अभियानले सरकारका कामकारबाहीप्रति सार्वजनिक रूपमा प्रश्न उठाउँदै जनताको अपेक्षाअनुसार शासन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार