२०८३ कात्तिक १९ , बुधबार

दशौँ राष्ट्रिय खेलकुदमा निजी क्षेत्रको साथ खोज्दै प्रचार–प्रसार टोली



जगदिश शाही

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सफल बनाउन निजी क्षेत्रको सहभागिता तथा सहकार्य जुटाउने उद्देश्यले सुर्खेतमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुर्खेत उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुसहितको टोली र संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूबीच प्रतियोगिताको प्रचार–प्रसार र व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल भएको हो।

छलफलका क्रममा संघका अध्यक्ष हर्षविक्रम खड्काले कर्णालीमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु प्रदेशका लागि गौरवको विषय भएको बताए । उनले प्रतियोगिता खेलकुदको विकाससँगै कर्णालीको पर्यटन, व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष खड्काले प्रतियोगिता सफल बनाउन संघले सरसफाइ अभियान, स्वागतद्वार निर्माण, प्रचार–प्रसार, अतिथि सत्कार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापक जनसहभागिता जुटाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले  दशौँ राष्ट्रिय खेलकुदलाई खेल प्रतियोगितामा मात्र सीमित नराखी कर्णालीको कला, संस्कृति, पर्यटन र मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा दर्शकलाई कर्णालीको आतिथ्यता र सांस्कृतिक पहिचानसँग परिचित गराउँदै प्रतियोगितापछि पनि पर्यटकलाई प्रदेश भ्रमणका लागि आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रेस सल्लाहकार मधुवन बिसीलगायतको उपस्थिति रहेको थियो।

कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सरकारी निकायसँगै निजी क्षेत्रको सहकार्य र जनसहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार