२०८३ कात्तिक १७ , सोमबार

कर्णाली बिरुद्ध कठमाण्डौको ४ विकेटको जित



बिक्रम कुमार वि.क.

कात्तिक १६, सुर्खेत ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सले पहिलो हारको स्वाद चाखेको छ । योसँगै कर्णालीले जारी सिजनमा पहिलो हार व्यहोरेको छ भने काठमाडौंले पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजले कर्णालीलाई दिएको लक्ष्य अन्तिम ओभरमा पूरा गर्दै कर्णाली विरुद्ध ४ विकेटको जित निकालेको हो ।

कर्णालीले दिएको लक्ष्य पछ्याएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । काठमाडौंको जितमा राशिद खानले अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा ५० रन बनाए । कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै जाहान्दाद खानले अविजित २२ र सन्तोष यादवले अविजित ५ रन बनाए । डेभिड वार्नरले १६, मोहम्मद आदिल आलमले २० र स्मित पटेलले ९ रन बनाए ।

कर्णालीका लागि हुसेन तलतले २ तथा सोमपाल कामी, नन्दन यादवँ र मार्क वाटले समान १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाउँदा हुसेन तलतले ४० रन जोडे। पवन सर्राफले अविजित ३० र गुल्सन झाले २० रन बनाए । काठमाडौंका लागि करण केसीले २ विकेट लिए । शाहब आलम, जाहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार