जगदिश शाही
सुर्खेत ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई व्यापक बनाउँदै प्रतियोगिताप्रति जनस्तरमा अपनत्व, उत्साह र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ।
यसैक्रममा परिषद्ले प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मरणिका सामग्री आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाहरूलाई वितरण गरेको छ।
स्मरणिका सामग्री वितरणसँगै आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन र सफल आयोजनाका लागि आवश्यक रणनीतिका विषयमा समेत छलफल गरिएको छ छ ।
कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको गौरव, प्रतिष्ठा र पहिचानसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले प्रतियोगितालाई सफल बनाउन प्रदेशवासीको साझा प्रतिबद्धता, सहयोग र सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे ।
सदस्य–सचिव चन्दले प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीको साझा गौरव र प्रतिष्ठाको विषयका रूपमा आत्मसात् गर्दै प्रतियोगिताको स्वागत तथा सफल आयोजनाका लागि एकजुट हुन सम्पूर्ण कर्णालीवासीलाई आह्वानसमेत गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई केवल खेलकुद प्रतिस्पर्धाका रूपमा मात्र नभई कर्णालीको खेलकुद क्षमता, सम्भावना र पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।