जगदिश शाही
बारा । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा उत्पन्न विवादले उग्र रूप लिएपछि स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका प्रहरी इन्स्पेक्टरसहित ३८ जना सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि सकुशल उद्धार गरिएको छ।
शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि स्थिति तनावग्रस्त बनेको थियो।
सोही क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा स्थानीय युवक आदित्य पासवानलाई गोली लागेको बताइएको छ। युवकलाई गोली लागेपछि आक्रोशित स्थानीयको घेराबन्दीमा स्वास्थ्य चौकीको मुख्य भवनभित्र रहेका प्रहरी तथा सरकारी कर्मचारीहरू परेका थिए।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार बिहान करिब साढे १० बजेदेखि भवनभित्रै थुनिएका उनीहरूलाई झन्डै दुई घण्टापछि सकुशल बाहिर निकालिएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घटनापछि स्वास्थ्य चौकीको मुख्य भवनमा प्रहरी इन्स्पेक्टरसहित निजामती कर्मचारीहरू पनि रहेका थिए। अवस्था बिग्रिएपछि उनीहरू भवनभित्रै घेरिएका थिए।
प्रशासनको पहलमा सबै कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अस्पताल उद्घाटनजस्तो सार्वजनिक कार्यक्रमका क्रममा भएको विवाद गोली चलाउने अवस्थासम्म पुग्नु र त्यसपछि सरकारी कर्मचारी नै घेराबन्दीमा पर्नुले घटनालाई थप गम्भीर बनाएको छ।