जगदिश शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको माटोको उर्वराशक्ति कायम राख्दै परम्परागत रैथाने कृषि उपज तथा बीउबिजनको संरक्षण गर्नुपर्ने बताएका छन् ।
कृषि अनुसन्धान केन्द्र, दशरथपुरको निरीक्षण भ्रमणपछि केन्द्रका अधिकारीहरूसँग शनिबार भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीको कृषि पहिचानसँग जोडिएका रैथाने बाली तथा बीउबिजनको संरक्षण आवश्यक रहेको बताएका हुन् ।
उनले माटोको उर्वराशक्ति र परम्परागत कृषि उपजको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
कर्णालीमा उत्पादन हुँदै आएका रैथाने बाली तथा स्थानीय बीउबिजनको संरक्षणसँगै कृषि अनुसन्धान र प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने विषयलाई समेत छलफलमा महत्त्व दिइएको छ।
कर्णाली प्रदेशमा स्थानीय तथा लोपोन्मुख बालीको संरक्षण, प्रवर्द्धन र उपयोगलाई कृषि क्षेत्रको महत्त्वपूर्ण विषयका रूपमा लिइँदै आएको छ।