जगदिश शाही
काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रयासले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ।
काउन्सिलका अनुसार पत्रकारलाई नियन्त्रणमा लिनुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा प्रहरी परिचालन गरिनु आपत्तिजनक छ।
लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रयास भएको घटनाले प्रेस स्वतन्त्रताको संवैधानिक तथा व्यावसायिक अधिकारमाथि चुनौती थपेको काउन्सिलको ठहर छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको उल्लेख गर्दै काउन्सिलले समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन नगर्न सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत काउन्सिलले माग गरेको छ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको व्यावसायिक सुरक्षा र मर्यादित पत्रकारिताको संवर्द्धनमा आफ्नो प्रतिबद्धता कायम रहेको पनि काउन्सिलले स्पष्ट पारेको छ।