२०८३ कात्तिक १७ , सोमबार

क्यान्सरका बिरामीलाई आजैदेखि निःशुल्क यातायात सेवा उपलब्ध



जगदिश शाही

सुर्खेत । क्यान्सर रोगको उपचारका लागि प्रदेशबाहिर जानुपर्ने कर्णालीका बिरामीलाई मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लि.ले आजदेखि निःशुल्क बस यात्रा सुविधा उपलब्ध गराउने भएको छ।

कम्पनीले कर्णाली प्रदेश अस्पताल र मेहलकुना अस्पतालबाट थप उपचारका लागि चितवन तथा काठमाडौं रिफर भएका क्यान्सरका बिरामीलाई लक्षित गरी उक्त सुविधा सञ्चालनमा ल्याएको हो।

प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काका अनुसार यो सुविधा क्यान्सर रोगबाट प्रभावित बिरामीका लागि मात्रै लागू हुनेछ। बिरामीसँगै यात्रा गर्ने कुरुवाका हकमा भने निःशुल्क सुविधा उपलब्ध नहुने उहाँले स्पष्ट पार्नुभएको छ।

उनका अनुसार क्यान्सर उपचारका लागि काठमाडौं तथा चितवन जानुपर्ने बिरामीलाई यातायात खर्चको आर्थिक भार कम गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो। उपचारकै क्रममा आर्थिक कठिनाइ भोगिरहेका बिरामीलाई यसबाट केही राहत पुग्ने अपेक्षा गरिएको छ।

मध्यपश्चिम यातायातले हालै स्लिपर र सोफा सिटसहितको सुविधासम्पन्न ‘शुभ कर्णाली’ बस सेवा सञ्चालनमा ल्याएको छ। सोही सेवासँगै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराउने व्यवस्था अघि सारेको हो।

स्वास्थ्य उपचारका लागि प्रदेशबाहिर जानुपर्ने बिरामीलाई लक्षित गरी निजी क्षेत्रबाट गरिएको यो पहललाई मानवीय सेवाको सकारात्मक प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार