जगदिश शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्ने लक्ष्यसहित तयारीलाई तीव्रता दिन खेलकुद क्षेत्रका सरोकारवालालाई आग्रह गर्नुभएको छ। उहाँले खेलाडी छनोट, प्रशिक्षण तथा प्रतियोगिताको तयारीका लागि आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका क्रममा आइतबार बसोबास व्यवस्थापन उपसमितिले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले खेलाडी छनोटमा निष्पक्षता र प्रशिक्षणमा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो।
पदक जित्न सक्ने क्षमताका खेलाडी पहिचान गरी दक्ष प्रशिक्षकमार्फत प्रभावकारी प्रशिक्षणको व्यवस्था गर्न आग्रह गर्दै उहाँले आवश्यकताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताए ।
“राम्रा खेलाडी निष्पक्ष रूपमा छनोट गर्नुस्, दक्ष प्रशिक्षक ल्याएर पदक जित्ने गरी तयारी गर्नुस्। बजेटको कुनै समस्या हुँदैन। तपाईंहरूले मागेको भन्दा बढी बजेट दिनसमेत प्रदेश सरकार तयार छ,” उनले भने ।
मुख्यमन्त्री शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुका साथै खेलकुद क्षेत्रमा प्रदेशको पहिचान स्थापित गर्नुपर्ने बताउनुभयो। प्रतियोगिता स्थगित हुने आशङ्कामा नपरी तयारीलाई निरन्तरता दिनसमेत उहाँले आग्रह गरे ।
प्रतियोगिता संघीय सरकारको आयोजनामा सञ्चालन हुने भए पनि यसको सफल व्यवस्थापन र सञ्चालनमा प्रदेश सरकारसहित सबै सरोकारवाला निकायको साझा जिम्मेवारी रहने उहाँको भनाइ थियो। सरकारी निकायको प्रयासले मात्रै प्रतियोगिता सफल नहुने भएकाले निजी क्षेत्र, स्थानीय तह, खेलकुद क्षेत्र र नागरिक समाजबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको उनले औँल्याए ।
कार्यक्रममा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रदेशको जिम्मेवारीमा रहेका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक काम गरिरहेको जानकारी दिनुभयो। प्रतियोगिताको तयारी र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सबै उपसमितिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए ।
छलफलमा प्रदेशका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही तथा नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसीलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले प्रतियोगिताको व्यवस्थापन, सुरक्षा, आवास तथा आवश्यक समन्वयका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने तयारी छ। प्रतियोगिताको सफल आयोजना र पदक तालिकामा उत्कृष्ट नतिजा हासिल गर्नु कर्णाली प्रदेशका लागि महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ।