सुर्खेत । अस्पतालबाट थप उपचारका लागि अन्यत्र रेफर हुने बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सुर्खेतमा ‘शुभ कर्णाली’ बस सेवा सञ्चालनमा ल्याइएको छ।
मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लि.ले स्लिपर र सोफा सिटसहितको सुविधासम्पन्न बस सेवा सञ्चालनमा ल्याएको हो। यात्रुलाई सहज, सुरक्षित र आरामदायी यात्रा सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त बसले सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीलाई समेत विशेष सेवा उपलब्ध गराउने भएको छ।
बस सेवामार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत र मेहलकुना अस्पतालबाट थप उपचारका लागि अन्यत्र रेफर भएका बिरामीलाई चितवन र काठमाडौंसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
‘शुभ कर्णाली’ बस सेवाको प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो।
उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बिरामी तथा उनीहरूका परिवारलाई यातायात खर्चको आर्थिक भार कम गर्न यस सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि यो पहल राहतदायी बन्न सक्ने देखिएको छ।
यात्रु सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको ‘शुभ कर्णाली’ बस सेवाले कर्णालीको स्वास्थ्य सेवामा पहुँच र बिरामीको आवागमन सहज बनाउन सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।