२०८३ कात्तिक १६ , आइतबार

कर्णालीको जडीबुटी व्यापारबाट ४ करोड १७ लाख राजस्व सङ्कलन



जगदिश शाही

सुर्खेत । कर्णाली प्रदेशमा पाइने बहुमूल्य जडीबुटीको बिक्री तथा निकासीबाट प्रदेश सरकारले एक आर्थिक वर्षमा चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ५८ प्रजातिका जडीबुटीको कारोबारबाट सरकारले उक्त राजस्व प्राप्त गरेको हो।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार उक्त अवधिमा प्रदेशभरि २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ किलोग्राम जडीबुटी सङ्कलन भएको थियो। सङ्कलितमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ किलोग्राम जडीबुटी प्रदेशबाहिर निकासी भएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए।

जडीबुटी निकासीबाट प्राप्त राजस्वमा झ्याउको हिस्सा सबैभन्दा बढी छ। एक लाख ८१ हजार ६०९ किलोग्राम झ्याउ निकासीबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यस्तै, ९६ हजार ७९२ किलोग्राम जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ सङ्कलन भएको छ।

झ्याउ र जटामसीबाट मात्रै एक करोड ८३ लाखभन्दा बढी राजस्व प्राप्त भएको छ। यी दुई प्रजातिको निकासीबाट सङ्कलित राजस्व कुल जडीबुटी राजस्वको उल्लेख्य हिस्सा हो।

कम परिमाणको यार्सागुम्बाबाट ठूलो आम्दानी

कर्णालीमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासीको परिमाण कम भए पनि राजस्व योगदानका हिसाबले अग्रस्थानमा देखिएको छ। गत आर्थिक वर्षमा २५१ किलोग्राम ६५६ ग्राम यार्सागुम्बाको कारोबारबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

त्यसैगरी, कटुसीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ, सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ र टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ राजस्व प्राप्त भएको छ।

मन्त्रालयको विवरणअनुसार सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व सङ्कलन भएको छ। बाँकी राजस्व अन्य विभिन्न प्रजातिका जडीबुटीको बिक्री तथा निकासीबाट प्राप्त भएको सूचना अधिकारी नेपालीले बताए।

स्थानीय सङ्कलन, बाहिरी बजारमा निर्भर कारोबार

कर्णालीका वनजङ्गल, हिमाली क्षेत्र तथा उच्च पाटनमा पाइने जडीबुटीको ठूलो परिमाण प्रदेशबाहिर निकासी हुने गरेको छ। मन्त्रालयको तथ्याङ्कले सङ्कलित जडीबुटीको अधिकांश हिस्सा बाहिरी बजारमा पुग्ने गरेको देखाउँछ।

डोल्पा, मुगु, हुम्ला र जुम्लालगायत हिमाली जिल्लामा यार्सागुम्बा, जटामसी, झ्याउ, सिलाजित, टिमुर र सेतक चिनीजस्ता बहुमूल्य जडीबुटी पाइन्छन्। यी जडीबुटीको सङ्कलन तथा बिक्री स्थानीय बासिन्दाको आम्दानी र जीविकोपार्जनसँग जोडिएको छ।

यद्यपि, जडीबुटीको व्यापारमा कच्चा पदार्थको सङ्कलन र निकासीको हिस्सा ठूलो रहँदा स्थानीयस्तरमा प्रशोधन तथा औद्योगिक उत्पादन विस्तारको आवश्यकता देखिएको छ। जडीबुटीलाई प्रदेशभित्रै प्रशोधन गरी बजारमा पुर्‍याउन सके स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र आम्दानीका अवसर विस्तार गर्न सकिने सम्भावना छ।

जडीबुटीको व्यावसायिक उपयोगसँगै यसको संरक्षण र दिगो सङ्कलन पनि उत्तिकै महत्त्वपूर्ण छ। वैज्ञानिक व्यवस्थापन, प्रशोधन पूर्वाधार र बजार पहुँचको विकास गर्न सके कर्णालीको प्राकृतिक सम्पदालाई प्रदेशको आर्थिक विकाससँग थप प्रभावकारी रूपमा जोड्न सकिने देखिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार