जगदिश शाही
दैलेख । समाजमा विद्यमान अन्धविश्वास, कुरीति तथा बोक्सीको आरोपजस्ता सामाजिक विकृति न्यूनीकरण गर्ने उद्देश्यले दैलेखका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा मंगलबार दुल्लु नगरपालिका–५ रातिमाटा र नौमुले गाउँपालिका–६ सल्लेरीमा कार्यक्रम गरिएको हो।
इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पुकस बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले रातिमाटामा स्थानीयवासीको उपस्थितिमा कार्यक्रम सञ्चालन गरेको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय नौमुलेबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) अर्जुन खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले नौमुले गाउँपालिका–६ सल्लेरीमा स्थानीयवासीलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
कार्यक्रममा बोक्सीको आरोपजस्ता सामाजिक कुरीति, अन्धविश्वास, त्यसले व्यक्ति तथा समाजमा पार्ने नकारात्मक प्रभाव र यसविरुद्ध अपनाउनुपर्ने सचेतनाका विषयमा जानकारी गराइएको हो ।
प्रहरी सहायक निरीक्षक पुकस बहादुर सुनारका अनुसार यस्ता सामाजिक विकृति अन्त्य गर्न समुदायस्तरमै कानुनी चेतना र सकारात्मक सोचको विकास आवश्यक छ। बोक्सीको आरोपका नाममा हुने अपमान, विभेद तथा हिंसा रोक्न स्थानीय नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने उनको भनाइ छ।
नेपाल कानून आयोगमा प्रकाशित मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ अनुसार कसैलाई बोक्सीको आरोप लगाउने, त्यस्तो आरोपका आधारमा अपमान गर्ने, सामाजिक बहिष्कार गर्ने, घरबाट निकाल्ने वा क्रूर तथा अमानवीय व्यवहार गर्ने कार्य कानुनी कसुर हो। यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। राष्ट्रसेवकले यस्तो कसुर गरेमा थप तीन महिनासम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधानसमेत रहेको छ।
समाजमा विद्यमान अन्धविश्वास तथा सामाजिक कुरीति न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा प्रहरी सहायक निरीक्षक पुकस बहादुर सुनारले जोड दिए । उनले कुनै पनि प्रकारका हिंसा, दुर्व्यवहार तथा सामाजिक विकृतिका घटना भएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन स्थानीयवासीलाई आग्रह गर्दै यस्ता घटनाको न्यूनीकरणका लागि प्रहरी प्रशासन सदैव सक्रिय रहने बताए ।