जगदिश शाही
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माननीय कल्याणी खड्काले बैठकका निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा मंगलबार ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको उनले जानकारी दिइन् ।
उनका अनुसार बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने निर्णय गरिएको उनले बताइन् ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ। साथै, कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ समेत स्वीकृत गरिएको उनको भनाइ छ।
त्यसैगरी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्णाली प्रदेश सभासमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उनल् जीनकारी दिइन् ।
बैठकका यी निर्णयले प्रदेशको प्रशासनिक तथा कानुनी व्यवस्था सुदृढ गर्नुका साथै सामाजिक सुरक्षा, लैङ्गिक समानता, कृषि क्षेत्रको गुणस्तर नियमन र खानेपानी तथा सरसफाइ व्यवस्थापनमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।