२०८३ कात्तिक १८ , मंगलबार

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ



सुर्खेत। डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरबाट पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार आज बिहान करिब साढे १० बजे उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जना जबरजस्ती करणी मुद्दाका कैदी हुन्।

उनीहरू १४ कार्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दीमध्येका रहेको राठौरले जानकारी दिए। फरार कैदीबन्दीको खोजीका लागि चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको थियो।

टोलीले खोलीबगरबाट आठबिसकोट–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्दा दुई जना भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा डोल्पा कारागारबाट फरार कैदी भएको पहिचान खुलेको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी गोतामकोटमा राखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार