२०८३ कात्तिक १८ , मंगलबार

दुल्लु प्रिमियर लिगले स्थानीय खेल प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास



जगदिश शाही

दैलेख । दैलेखको दुल्लु नगरपालिकामा आयोजना गरिएको प्रथम दुल्लु प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा प्रतिभावान खेलाडीको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कञ्चन कर्णाली युवा क्लबको आयोजना तथा एवाईसी नेपालको सहआयोजनामा जिल्ला क्रिकेट संघ दैलेखको समन्वय र दुल्लु नगरपालिका तथा दुल्लु नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालको प्रमुख आतिथ्यतामा गरिएको हो । उद्घाटन समारोहमा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य पवनकुमार थापासहित स्थानीय जनप्रतिनिधि, खेलकुदकर्मी, समाजसेवी, युवा तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख भरतप्रसाद रिजालले स्थानीय तहमा खेलकुदको विकास र युवाहरूको प्रतिभा पहिचानका लागि दुल्लु प्रिमियर लिग महत्त्वपूर्ण अवसर भएको बताए। खेलकुदले युवाहरूलाई अनुशासित, सिर्जनशील र स्वस्थ बनाउनुका साथै समाजमा आपसी सद्भाव र एकता कायम गर्न सहयोग पुर्‍याउने उनको भनाइ थियो।

उनले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्दै उनीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण निर्माण गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका र सम्बन्धित सरोकारवाला निकायबीच आवश्यक सहकार्य हुनुपर्ने उनले बताए।

त्यस्तै, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य पवनकुमार थापाले कर्णाली प्रदेशमा खेलकुदको पर्याप्त सम्भावना रहे पनि स्थानीय स्तरमा प्रतिभावान खेलाडीलाई उचित अवसर र मञ्च प्रदान गर्न आवश्यक रहेको बताए।

दुल्लु प्रिमियर लिगजस्ता प्रतियोगिताले गाउँ तथा बस्तीमा रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । खेलकुदलाई प्रतियोगितामा सहभागितामा मात्र सीमित नराखी खेलाडीको क्षमता विकास, प्रशिक्षण र भविष्य निर्माणसँग जोड्नुपर्नेमा उनले जोड दिए।

स्थानीय तहबाटै खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गर्न सके कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न सकिने विश्वाससमेत थापाले व्यक्त गरे।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का यूवा  नेता नवीन योगीले युवाहरूको सक्रियता र सकारात्मक सोचबाट समाजमा नयाँ परिवर्तन सम्भव हुने बताए। खेलकुद केवल मनोरञ्जन मात्र नभई अनुशासन, एकता र भविष्य निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले दुल्लु प्रिमियर लिगले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

 युवाहरूले अघि सारेका सिर्जनात्मक र सकारात्मक अभियानमा आफ्नो साथ, समर्थन र सहयोग रहने बताए।

आयोजक कञ्चन कर्णाली युवा क्लबका तर्फबाट सभाध्यक्ष नरेश खड्काले प्रतियोगिताको  तयारीबारे जानकारी दिए । उनका अनुसार प्रतियोगितामार्फत स्थानीय क्षेत्रमा क्रिकेट खेलको विकास गर्नुका साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिता कात्तिक १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आयोजकका सभाध्यक्ष खड्काले जनाएका छन् । उनले भने  प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उनका अनुसार प्रतियोगिताले दुल्लु क्षेत्रमा क्रिकेट खेलको विकास गर्नुका साथै युवाहरूबीच आपसी सद्भाव, अनुशासन, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ।

स्थानीय प्रतिभालाई खेलकुदको माध्यमबाट अगाडि बढाउने उद्देश्यसहित आयोजना गरिएको प्रथम डीपीएलले दैलेखको खेलकुद क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार