२०८३ कात्तिक १९ , बुधबार

कर्णालीमा इजरायली कृषि प्रविधि भित्र्याउनेबारे शिष्टाचार भेटवार्ता



जगदिश शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार वीरेन्द्रनगर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा कर्णालीको समग्र विकास, कृषि आधुनिकीकरण तथा नेपाल–इजरायलबीचको सहकार्यका विषयमा छलफल भएको हो।

भेटवार्तामा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आधुनिक प्रविधि कर्णालीको भौगोलिक परिवेशअनुकूल प्रयोगमा ल्याउने विषयलाई प्राथमिकता दिइएको थियो। त्यस्तै, ‘सिक्दै सिकाउँदै’ कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर प्रदान गर्ने तथा इजरायलबाट फर्किएका नेपाली जनशक्तिको सीप र अनुभवलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्ने विषयमा समेत छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

छलफलका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा जनशक्तिको क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न इजरायल सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए।

त्यसैगरी, सरकारी प्रणालीमार्फत इजरायलमा केयरगिभरका रूपमा रोजगारीका अवसर सिर्जना गर्ने, दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार गर्ने तथा विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्रविधि आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको हो । मुख्यमन्त्री शाहीले भने ।

कर्णालीमा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, युवाको सीप विकास र रोजगारीका अवसर विस्तार गर्न इजरायलको प्रविधि तथा अनुभव उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार