२०८३ कात्तिक १९ , बुधबार

डा. मनोजकुमार केसी बने नेपाल प्रहरीको ३४ औँ महानिरीक्षक



जगदिश शाही 

काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन गर्दै सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो।

को हुन् नयाँ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसी  ?

डा. केसी नेपाल प्रहरीमा २०५४ चैत १८ मा  प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका  प्रहरी अधिकारी हुन् ।  प्रहरी सेवाका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी प्रहरी उपरीक्षक (एसपी), वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सम्म पुगेका हुन् ।

केसी यसअघि प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। विभिन्न संवेदनशील तथा चर्चित अपराध अनुसन्धानमा संलग्न रहेर अनुभव हासिल गरेका केसीले प्रहरी संगठनभित्र अनुसन्धानमुखी कार्यशैलीका लागि पहिचान बनाएका छन् ।

विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा उनको भूमिका चर्चामा आएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले नेतृत्वमा उक्त प्रकरणको अनुसन्धान अघि बढाइएका थियो। सोही क्रममा २०७९ चैत १२ मा केशव दुलाल, टंक गुरुङ र सानु भण्डारी पक्राउ परेपछि प्रकरणको अनुसन्धान थप अघि बढेको थियो। त्यसपछि यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत उच्च पदस्थ व्यक्तिहरू पनि पक्राउ परेका थिए।

नयाँ नेतृत्वसामु चुनौती र अपेक्षा

नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुभएका केसीसामु मुलुकको शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने र प्रहरी संगठनभित्र सुशासन तथा व्यावसायिकता अभिवृद्धि गर्ने चुनौती रहनेछन्।

त्यस्तै, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिमा आधारित अनुसन्धान, साइबर अपराध नियन्त्रण, महिला तथा बालबालिकाविरुद्ध हुने अपराधको प्रभावकारी अनुसन्धान र प्रहरीप्रतिको जनविश्वास बढाउनु पनि नयाँ नेतृत्वका महत्वपूर्ण जिम्मेवारी हुनेछन्।

सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। अनुभवी अनुसन्धान अधिकृतका रूपमा परिचित केसीको नेतृत्वमा संगठनले आगामी दिनमा कस्तो कार्यदिशा लिन्छ भन्ने विषयलाई सुरक्षा क्षेत्र र आम नागरिकले चासोका साथ हेरेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार