जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-८ बुरिङ्गेमा घाँसको भारी बोकेर घर फर्किने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय तिलक विककी २७ वर्षीया श्रीमती सपना विक रहेकी छन्।
प्राप्त जानकारीअनुसार, बिहीबार दिउँसो करिब १२ः१० बजे उनी घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फ रहेको बारीमा घाँस काट्न गएकी थिइन्। घाँस काटेर भारी बोकी फर्किने क्रममा करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्। उनको टाउको र आँखामा चोट लागेको थियो भने मुखबाट रगत बगेको थियो।
तत्काल उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएकी उनलाई दिउँसो २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा SOCO सहित सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमपछि आफन्तले घर लगिसकेको प्रहरीले जनाएको छ।