जगदिश शाही
कालीकोट । खेलकुदमार्फत युवाको प्रतिभा पहिचान गर्ने र स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित कालीकोटको तिलागुफा नगरपालिका–१ मा वडा स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ।
तिलागुफा नगरपालिका वडा नं. १ र खमाले गुफा युवा क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन शनिबार गरिएको हो।
खमाले गुफा युवा क्लबका अध्यक्ष मानबहादुर बोगटीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्रबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, खेलाडी तथा स्थानीयवासीहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख शाहीले खेलकुदले युवाहरूको प्रतिभा पहिचान र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। खेलकुदले अनुशासन, सहकार्य र आपसी सद्भावको भावना विकास गर्ने उल्लेख गर्दै उनले स्थानीयस्तरमा हुने प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने धारणा राखे।
क्लबका अध्यक्ष बोगटीले स्थानीय युवाहरूमा रहेको प्रतिभालाई अवसर प्रदान गर्ने, खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।
स्थानीय युवालाई सिर्जनात्मक गतिविधिमा जोड्दै खेलकुद र सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको यस कार्यक्रमले समुदायबीचको एकता र सहकार्यलाई समेत बलियो बनाउने विश्वास आयोजकको छ।
प्रतियोगितामा सहभागी खेलाडी तथा कलाकारहरूलाई आयोजकले सफलताको शुभकामना व्यक्त गरेको छ।