जगदिश शाही
दैलेख । कालीकोटबाट बिरामी र कुरुवा बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान करिब ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार जिपमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की, २७ वर्षीया जादुकला सार्कीसहित कुरुवाहरू सवार थिए।
दुर्घटनामा जिप चालक सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खाडा गम्भीर घाइते भएका छन्। यस्तै, कैली सार्की, जादुकला सार्की, १८ वर्षीय गंग सार्की, ४१ वर्षीय रने सार्की र सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खाडा घाइते भएका छन्।
प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि सुर्खेत पठाइएको छ।
स्थानीय देवीदास बरालका अनुसार बिरामी बोकेको उक्त बोलेरो राति कालीकोटबाट सुर्खेततर्फ प्रस्थान गरेको थियो।