२०८३ कात्तिक २५ , मंगलबार

२८औँ पादमघाट मेला कात्तिक २७ देखि



जगदिश शाही

कालिकोट । कालिकोटको महावै गाउँपालिका–१ स्थित पादमघाटमा २८औँ पादमघाट मेला आयोजना हुने भएको छ। समाज कल्याण युवा मञ्चको आयोजनामा आगामी कात्तिक २७ गतेदेखि सुरु हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गरिने भएको हो।

Screenshot

समाज कल्याण युवा मञ्चका अध्यक्ष योगेन्द्र सिंह (स्याडो) का अनुसार पादमघाट मेलाको सुरुवात २०५६ सालमा स्थानीय युवाहरूको पहलमा भएको हो। मेलाको सुरुवातमा हुम सिंह, तिल बहादुर शाही र बखत बहादुर सिंहलगायतको महत्वपूर्ण भूमिका रहेको उनले बताए। प्रारम्भिक समयमा आर्थिक स्रोतको अभाव भएपछि युवाहरूले देउसी–भैलो खेलेर तथा स्थानीयस्तरबाट चन्दा संकलन गरी मेलाको सुरुवात गरेका थिए।

सिंहका अनुसार मेलालाई निरन्तरता दिन स्थानीय युवा, अग्रज, व्यवसायी तथा समुदायको महत्वपूर्ण योगदान रहँदै आएको छ। मेलाको विकास र विस्तारमा महावै गाउँपालिकाको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताए। स्थानीय समुदायको पहल र विभिन्न संघसंस्थाको सहयोगले मेला अहिले २८औँ संस्करणसम्म आइपुगेको उनको भनाइ छ।

उनले मेलाको सुरुवातमा स्थानीय युवाहरूले देखाएको उत्साह, मेहनत र एकतालाई आगामी पुस्ताले पनि निरन्तरता दिनुपर्ने बताए। नयाँ पुस्तालाई खेलकुद, कला र संस्कृतिसँग जोड्दै मेलाको मौलिकता जोगाउनु आवश्यक रहेको उनको भनाइ छ।

आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार मेलामा खुला वडास्तरीय पुरुष तथा महिला भलिबल, हाजिरीजवाफ, लोकदोहोरी र सटफुट प्रतियोगिता सञ्चालन हुनेछन्।

प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा प्रथम हुने टोलीले १ लाख २५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टोलीले ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पुरुष भलिबलमा टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।

महिला भलिबलमा प्रथम हुने टोलीलाई ४४ हजार ४४४ रुपैयाँ र द्वितीय हुने टोलीलाई २५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उक्त प्रतियोगितामा विद्यालय तथा संघसंस्थामा आबद्ध खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन्। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ४ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

सटफुट प्रतियोगितामा प्रथम हुनेले २ हजार ५०० र द्वितीय हुनेले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताका पुरस्कारबाट प्रचलित नियमअनुसार करकट्टी गरिनेछ।

अध्यक्ष सिंहका अनुसार मेलाको मुख्य उद्देश्य स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खेलाडीलाई प्रोत्साहन तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो। खेलकुद तथा सांस्कृतिक गतिविधिले युवामा अनुशासन, आपसी सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

मञ्चले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा समूहलाई तोकिएको शुल्कसहित टिम दर्ता गरी सहभागिता जनाउन आग्रह गरेको छ। मेलामार्फत स्थानीय खेलाडी तथा कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउने अपेक्षा आयोजकले गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २५ गते मंगलबार