२०८३ कात्तिक २७ , बिहीबार

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते



जगदिश शाही
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार गाडीमा चालकसहित १५ जना सवार थिए। दुर्घटनामा तीन महिला, पाँच पुरुष र दुई बालिकाको मृत्यु भएको छ। घाइते हुनेमा दुई बालक र तीन पुरुष रहेका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार दुर्घटना बिहान करिब ५ः४५ बजे भएको हो।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २७ गते बिहीबार