जगदिश शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै द्वन्द्वकालीन घटनाबारे कडा प्रश्न उठाएका छन्।
शाहीले शुक्रबार आफ्नो फेसबुकमार्फत ‘कमरेड प्रचण्डजीलाई मेरो जवाफ’ शीर्षकमा अभिव्यक्ति सार्वजनिक गर्दै द्वन्द्वकालमा ज्यान गुमाएका सर्वसाधारण नागरिक र उनीहरूका परिवारले भोगेको पीडाबारे प्रश्न उठाएका हुन्।
‘सुन्नुस् कमरेड प्रचण्डजी, तपाईंलाई अपराधी नभनेर के साधु भन्ने ?’ शाहीले आफ्नो फेसबुकमा लेखेका छन्।
उनले प्रचण्डलाई द्वन्द्वकालमा आफन्त गुमाएका पीडित परिवारको घरमा पुगेर उनीहरूको पीडा बुझ्न आग्रह गरेका छन्। भाषणबाट भन्दा पीडित परिवारका आँसु, पीडा र उजाडिएको जीवनबाट वास्तविक जवाफ पाउन सकिने उनको भनाइ छ।
शाहीले सशस्त्र द्वन्द्वका क्रममा बालबालिकालाई हतियार बोकाइएको विषय उठाउँदै उनीहरूको बाल्यकाल र निर्दोष जीवनमाथि प्रश्न गरेका छन्। त्यस्तै, मन्दिरभित्र हत्या गरिएका पुजारी, विद्यालयमा पढाइरहेका बेला मारिएका शिक्षक तथा सत्यतथ्य लेख्ने क्रममा ज्यान गुमाएका पत्रकारहरूको घटनालाई पनि उनले आफ्नो अभिव्यक्तिमा समेटेका छन्।
आफन्त गुमाएर मृत्यु संस्कारमा बसेका क्रियापुत्रीसमेत हिंसाको सिकार भएको उल्लेख गर्दै शाहीले उनीहरूको दोष के थियो भन्ने प्रश्न गरेका छन्।
परिवारको पेट पाल्न र छोराछोरीको भविष्य बनाउन सुरक्षाकर्मीको जागिर खाएका गरिब परिवारका छोराहरूले समेत ज्यान गुमाउनुपरेको भन्दै उनले द्वन्द्वका क्रममा मारिएका नागरिक तथा सुरक्षाकर्मीका परिवारको पीडाप्रति राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
‘आखिर उनीहरूको अपराध के थियो? उनीहरू आफ्नो परिवारका लागि बाँच्न चाहन्थे, आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्थे,’ शाहीले लेखेका छन्।
उनले राजनीतिको नाममा बालबालिकाको काँधमा बन्दुक बोकाउने, निर्दोष नागरिकको रगत बगाउने अनि अहिले आफूलाई प्रश्न गर्नेहरूलाई नै अपराधी भन्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
शाहीको उक्त अभिव्यक्तिले सशस्त्र द्वन्द्वका क्रममा भएका हिंसात्मक घटनाका पीडित परिवारको न्याय, उनीहरूले भोगेको पीडा र राजनीतिक नेतृत्वको जवाफदेहिताको विषयलाई पुनः बहसमा ल्याएको छ।