२०८३ कात्तिक २८ , शुक्रबार

सुदूरपश्चिमको रोमाञ्चक जित, प्लेअफमा स्थान सुरक्षित



जगदिश शाही

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्न नसक्दा काठमाडौंले हार बेहोरेको हो।

टस जितेर पहिले बलिङ रोजेको काठमाडौं गोर्खाजविरुद्ध ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुवातमै खराब प्रदर्शन गरेको थियो। टोलीले २.३ ओभरमै ८ रन जोड्दा चार महत्त्वपूर्ण विकेट गुमाएको थियो। स्कट कुग्गेलाइन, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन र ईशान पाण्डे सस्तैमा आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो।

तर कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई संकटबाट बाहिर निकाले। उनले ५५ बलमा ६० रन बनाए। उनको इनिङ्समा पाँच चौका र दुई छक्का समावेश थिए।

दीपेन्द्रलाई आरिफ शेखले १६ रन जोड्दै साथ दिए भने थारिन्दु रत्नायकेले अविजित २३ बलमा २६ रन बनाए। फाबियन एलेनले अविजित २ रनको योगदान दिएपछि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाउँदै काठमाडौंसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

काठमाडौंका बलरमध्ये जहान्दाद खानले उत्कृष्ट प्रदर्शन गर्दै २२ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले दुई विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले सुरुवातदेखि नै विकेट गुमाउँदै दबाब सामना गर्नुपरेको थियो। राशिद खानले अविजित ३१ बलमा ३५ रन बनाउँदै टोलीलाई जितको आशा कायम राखेका थिए। त्यस्तै दुशन हेमन्थाले १८ बलमा २१ रन र सन्तोष यादवले १० रन जोडे।

साम हेजलेटले ११ तथा मोहम्मद आदिल आलमले ८ रन बनाए। अन्य ब्याटरबाट अपेक्षित योगदान आउन नसक्दा काठमाडौं २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमा सीमित भयो।

सुदूरपश्चिमका बलरमध्ये अनिल खरेलले २ विकेट लिए। स्कट कुग्गेलाइन, फाबियन एलेन र हेमन्त धामीले समान एक–एक विकेट लिए।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनमा प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। लुम्बिनी लायन्सपछि प्लेअफमा स्थान सुरक्षित गर्ने सुदूरपश्चिम दोस्रो टोली बनेको छ।

कम स्कोरको लक्ष्य रक्षा गर्दै हात पारेको यस जितले सुदूरपश्चिमको बलिङ क्षमता र कठिन परिस्थितिमा खेलमा फर्किन सक्ने सामर्थ्यलाई देखाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शुक्रबार