२०८३ कात्तिक ३० , आइतबार

अन्तिम खेलमा कर्णाली याक्सको सानदार जित, चितवन राइनोज २४ रनले पराजित



जगदिश शाही

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सले आफ्नो अन्तिम लिग खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको कर्णालीले अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

आइतबार (कात्तिक २९ गते) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको २७औँ खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलातले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५१ रन बनाए । उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३५ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरे । गुलशन झाले केवल ६ बलमा १८ रन बनाए भने पवन सर्राफले २१ बलमा १५ रनको योगदान दिए ।

कर्णालीको सुरुवात भने कमजोर रह्यो । ओपनर सचिन शर्मा खाता नखोल्दै आउट भए भने दीपक डुम्रेले ७ र कप्तान डेभिड मिलरले ५ रन मात्र बनाउन सके । मध्यक्रममा लगातार विकेट गुमाउँदा दबाबमा परेको कर्णालीलाई तलात, अरिफुल र गुलशनको आक्रामक ब्याटिङले सम्मानजनक योगफलसम्म पुर्‍याएको थियो ।

१५४ रनको लक्ष्य पछ्याएको चितवनले सुरुवातदेखि नै कर्णालीको बलिङ सामना गर्न संघर्ष गर्नुपर्‍यो । चितवनका लागि कामिल मिश्राले सर्वाधिक २५ रन बनाए । उसामा मिरले अविजित २८ रन जोडे भने कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा चितवन लक्ष्यसम्म पुग्न सकेन ।

कर्णालीको बलिङमा हुसैन तलातले ३ विकेट लिए । उनले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । पवन सर्राफ, मार्क वाट र सोमपाल कामीले पनि टोलीको जितमा योगदान दिए । कर्णालीले कसिलो बलिङ गर्दै चितवनलाई १२९ रनमै रोक्न सफल भयो ।

यस खेलमा तलात कर्णालीका लागि ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली खेलाडी बने । अविजित अर्धशतकसँगै तीन विकेट लिएका उनको अलराउन्ड प्रदर्शन जितको मुख्य आधार बन्यो ।

यसअघि नै प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको कर्णालीका लागि यो खेल प्रतियोगिताको अन्तिम लिग खेल थियो । अर्कोतर्फ चितवनले भने प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । यस्तो अवस्थामा कर्णालीले बलियो प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्दै समर्थकलाई खुसी दिएको छ ।

एनपीएलको तेस्रो संस्करणमा अपेक्षित नतिजा निकाल्न नसकेको कर्णालीले अन्तिम खेलमा देखाएको प्रदर्शनले टोलीको प्रतिस्पर्धात्मक क्षमता प्रस्तुत गरेको छ । विशेषगरी तलातको अलराउन्ड प्रदर्शन र अन्य खेलाडीको योगदानले कर्णालीको अन्तिम जितलाई स्मरणीय बनाएको छ ।

यससँगै कर्णाली याक्सले एनपीएलको तेस्रो संस्करणको आफ्नो लिग यात्रा चितवन राइनोजमाथिको २४ रनको जितसँगै टुंग्याएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार