२०८३ कात्तिक २९ , शनिबार

फागुनभित्र स्थानीय चुनावको तयारीमा आयोग, विदेशबाट मतदानबारे अध्ययन



जगदिश शाही

काठमाडौं । निर्वाचन  आयोगले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाएको छ। वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै नयाँ जनप्रतिनिधि चयन गर्ने उद्देश्यले आयोगले निर्वाचनको आन्तरिक गृहकार्य तीव्र पारेको हो।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वर्ष समाप्त हुँदैछ। त्यसलाई ध्यानमा राख्दै आयोगले आगामी फागुनलाई केन्द्रमा राखेर निर्वाचनको तयारी गरिरहेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीका अनुसार निर्वाचनका लागि आवश्यक स्रोतसाधन, जनशक्ति तथा व्यवस्थापकीय पक्षबारे अध्ययन भइरहेको छ। आयोगले निर्वाचनको वातावरण निर्माणका लागि सरकार र राजनीतिक दलहरूसँग समेत छलफल गरिरहेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँसभा तथा नगरसभाका सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ। निर्वाचनको औपचारिक मिति भने आयोगको परामर्शमा सरकारले तोक्नेछ।

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिने विषयमा अध्ययन

यसैबीच निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने सम्भावनाबारे अध्ययन अघि बढाएको छ।

निर्वाचनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगले विद्युतीय मतदान प्रणाली, विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत मतदान तथा अन्य सम्भावित विकल्पबारे अध्ययन गरेको छ।

निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा प्रविधिसम्बन्धी अध्ययन कार्यदल गठन गरिएको थियो। विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्थाबारे पनि छलफल भइरहेको छ।

तर आगामी स्थानीय तह निर्वाचनमै विदेशबाट मतदान गर्न पाउने व्यवस्था लागू हुने निश्चित भइसकेको छैन। त्यसका लागि आवश्यक कानुनी व्यवस्था, प्रविधि र कार्यान्वयनको निर्णय हुन बाँकी छ।

७५३ स्थानीय तहमा निर्वाचन हुने

नेपालका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ।

निर्वाचन आयोगले मतदाता सहभागिता बढाउने, मतदान प्रक्रियालाई सहज बनाउने र प्रविधिको प्रयोग विस्तार गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।

आगामी निर्वाचनको मिति घोषणा, तयारीको अवस्था र विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयनको विषय अब चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते शनिबार