जगदिश शाही
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबको फुटबल टोली सुर्खेत आइपुगेको छ। प्रतियोगितालाई लक्षित गर्दै टोली आज सुर्खेत पुगेको हो।
सुर्खेत आइपुगेको आर्मी टोलीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दल, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पवन शाही लगायतले स्वागत गरेका छन्।
टोलीलाई स्वागत गर्दै सदस्य सचिव चन्दलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि खेलाडीहरूलाई शुभकामना व्यक्त गरे। उनले उच्च मनोबलका साथ मैदानमा उत्रिएर उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलहरू मंसिर ८ देखि १५ गतेसम्म वीरेन्द्रनगरस्थित फुटबल रंगशालामा सञ्चालन हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुने कार्यक्रम छ।
प्रतियोगिताका लागि विभिन्न प्रदेश तथा विभागीय टोलीहरू सुर्खेत आउने क्रम जारी रहेको छ। टोलीहरूको आगमनसँगै कर्णालीमा राष्ट्रिय खेलकुदको माहोल थप उत्साहपूर्ण बन्दै गएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आयोजक तथा सम्बन्धित निकायले तयारीलाई तीव्रता दिइरहेका छन्।