२०८३ असोज १९ , सोमबार

दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने, कर्णालीमा तयारी तीव्र



सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म हुने प्रतियोगिताका लागि खेलस्थल, पूर्वाधार, खेल सामग्री, आवास तथा व्यवस्थापनका काम अघि बढाइएको आयोजकले जनाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले सुर्खेत रंगशालाको निर्माण कार्य करिब सम्पन्न भएको जानकारी दिए। उनका अनुसार असोज मसान्तसम्म रंगशाला हस्तान्तरण गर्ने तयारी छ। अहिले सरसफाइलगायतका अन्तिम काम भइरहेको छ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन्। ३२ खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय भएको आयोजकले जनाएको छ।

अधिकांश खेल सुर्खेतमै सञ्चालन हुनेछन्। भौगोलिक अवस्था र उपलब्ध पूर्वाधारका आधारमा केही खेल दैलेख, कालिकोट, सल्यान र जुम्लालगायत जिल्लामा सञ्चालन गर्ने तयारी छ। केही खेल नेपालगन्जमा समेत आयोजना गरिनेछ। नेपालगन्जमा सुटिङ र टेनिसलगायतका खेल सञ्चालन गर्ने तयारी गरिएको छ।

खेलाडी तथा सहभागीको आवास व्यवस्थापनलाई भने आयोजकले चुनौतीका रूपमा लिएको छ। सुर्खेतमा करिब तीन हजार बेडको व्यवस्था रहेको र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको परिषद्का सदस्य सचिव चन्दले बताए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताका लागि ४४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। थप बजेट आवश्यक रहेकाले त्यसका लागि प्रक्रिया अघि बढाइएको उनले बताए। अर्थ मन्त्रालयबाट प्रतियोगिताका लागि करिब ७१ करोड रुपैयाँ बजेट सुनिश्चित गर्ने विषयमा काम भइरहेको उनको भनाइ छ।

प्रतियोगितामा आवश्यक पर्ने खेल सामग्री खरिद प्रक्रिया अघि बढिसकेको छ। खेल सञ्चालन तथा व्यवस्थापनका अन्य तयारी पनि समानान्तर रूपमा अघि बढाइएको मेहताले जानकारी दिए।

यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने बताएका छन्। आइतबार सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रतियोगिता सर्ने विषयमा दुविधा नराख्न आग्रह गरे।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि प्रतियोगिता आयोजना हुनेमा विश्वस्त हुन आग्रह गर्दै सफल आयोजनाबाट कर्णालीले ठूलो राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सक्ने सन्देश जाने बताए।

दसौँ राष्ट्रिय खेलकुदसँगै पहिलो पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव मेहताका अनुसार पारा राष्ट्रिय खेलकुद मंसिर १५ गते सञ्चालन गर्ने तयारी छ।

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुदको ठूलो संस्करण आयोजना हुन लागेकाले प्रतियोगितालाई प्रदेशको खेलकुद पूर्वाधार विकास, खेलाडीको प्रतिभा पहिचान तथा पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार