२०८३ असोज १७ , शनिबार

कालिकोट कांग्रेसमा प्रतिनिधि छनोटप्रति प्रश्न, सूची सार्वजनिक गर्न शाहीको माग



जगदिश शाही
कालिकोट । नेपाली कांग्रेस कालिकोटमा प्रदेश तथा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर प्रश्न उठेको छ। १५औँ नेपाली कांग्रेस महाधिवेशनका महावै गाउँपालिका–१ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस यूवा नेता कमल जंग शाहीले प्रतिनिधि छनोट प्रक्रियालाई पारदर्शी बनाउन माग गर्दै प्रतिनिधिहरूको सूची सार्वजनिक गर्न आग्रह गरेका छन्।

शाहीले प्रतिनिधि छनोट प्रक्रिया पार्टीको विधि, विधान र निष्पक्ष प्रक्रियाअनुसार भएको हो भने छनोट भएका प्रतिनिधिको सूचीसँगै छनोटको आधारसमेत सार्वजनिक गर्नुपर्ने बताएका छन्। लामो समयदेखि पार्टी संगठनमा योगदान दिँदै आएका कार्यकर्तालाई विश्वासमा लिएर निर्णय गर्नुपर्ने उनको भनाइ छ।

प्रतिनिधि छनोटमा कार्यकर्ताको सहभागिता र विश्वासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै शाहीले बन्द कोठामा निर्णय गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। जिल्लामा संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पन्छाएर प्रतिनिधि छनोट गरिए त्यसले पार्टीभित्र थप असन्तुष्टि बढाउन सक्ने उनको धारणा छ।

उनले लामो समयदेखि पार्टी संगठनका लागि संघर्ष गर्दै आएका, गाउँ–गाउँमा संगठन निर्माणमा खटिएका र पार्टीको गतिविधिमा निरन्तर सक्रिय कार्यकर्ताको योगदानलाई उचित मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्। योगदान र सक्रियताभन्दा पहुँच तथा व्यक्तिगत निकटतालाई आधार बनाएर निर्णय गरिए त्यसले संगठनभित्र निराशा र असन्तुष्टि बढाउन सक्ने उनको भनाइ छ।

“पार्टी विधि र विधानबाट चल्नुपर्छ, व्यक्तिको इच्छाले होइन। प्रतिनिधि छनोटमा पारदर्शिता हुनुपर्छ र कार्यकर्तालाई विश्वासमा लिनुपर्छ,” शाहीले भनेका छन्।

शाहीले प्रदेश तथा महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गर्न, प्रतिनिधि छनोटको आधार स्पष्ट पार्न र कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिन पार्टी नेतृत्वसँग माग गरेका छन्।

उनले काठमाडौंमा हुने राजनीतिक गतिविधिभन्दा जिल्लामा लामो समयदेखि संगठन निर्माणमा खटिएका कार्यकर्ताको भावना र संगठनात्मक प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन्।

संघर्ष गर्ने र पार्टी संगठन निर्माणमा जीवनको महत्वपूर्ण समय खर्चिएका कार्यकर्ताको योगदानको मूल्यांकन हुनुपर्ने भन्दै शाहीले व्यंग्यात्मक रूपमा प्रश्न गरेका छन्, “काम गर्ने कालु, मकै खाने भालु भनेजस्तो अवस्था खै सधैं हुने ?

प्रतिनिधि छनोट प्रक्रियामा स्पष्टता, निष्पक्षता र न्यायको माग गर्दै शाहीले भने, “जवाफ चाहियो, बहाना होइन। पारदर्शिता चाहियो, गुटको राजनीति होइन। न्याय चाहियो, व्यक्तिको मनमानी होइन।”

प्रतिनिधि छनोट प्रक्रियाबारे कमल जंग शाहीले उठाएका प्रश्नका सम्बन्धमा नेपाली कांग्रेस कालिकोटको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार