जगदिश शाही
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित मानविकी तथा सामाजिक विज्ञान स्नातक तह र विभिन्न केन्द्रीय विभागहरूको संयुक्त आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
समाजशास्त्र, मानवशास्त्र, पत्रकारिता, विज्ञान तथा शैक्षिक अध्ययन केन्द्रका विभागहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम सम्बन्धित विभागीय प्रमुख भिउसी बुढाको अध्यक्षता तथा मानविकी तथा सामाजिक विज्ञान स्नातक तहका डिन डा। आनन्दप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो।
कार्यक्रममा अंग्रेजी तथा नेपाली विभागका विभागीय प्रमुख डा। रेशमकुमार बिष्ट, समाजकार्य, पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख उपप्राध्यापक त्रिभुवन के।सी। लगायत विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा। सुवेदीले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले एकअर्काको उन्नति तथा प्रगतिमा शुभेच्छा व्यक्त गर्दै आपसी असमझदारी र मनमुटाव अन्त्य गरी सहकार्य र सहयोगका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
आगामी दिनमा पनि एकअर्कालाई सहयोग गर्दै सामूहिक प्रयास र सहकार्यका साथ संस्थागत विकासमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। विगत २२ वर्षदेखि यस्ता अवसरमा शुभकामना आदान–प्रदान गर्ने परम्परा कायम रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि उक्त परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
कार्यक्रमको समापनका क्रममा विश्वविद्यालयका तर्फबाट मन्तव्य व्यक्त गर्दै सरले चाडपर्वले आपसी सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सकारात्मक वातावरण निर्माणमा सहयोग पुर्याउने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वविद्यालय परिवारबीच सहकार्य, सद्भाव र एकताको वातावरणलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले एकअर्काबीच शुभकामना आदान–प्रदान गर्दै विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।