जगदिश शाही
काठमाडौं। कर्णाली प्रदेशमा निर्माण भएका विमानस्थल सञ्चालनमा ल्याउने तथा हवाई सेवा विस्तार गर्ने विषयमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले पहल गर्नुभएको छ।
काठमाडौंमा कात्तिक ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराम पोखरेलको उपस्थितिमा भएको छलफलमा मन्त्री खड्काको पनि सहभागी छ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिवहरू, नेपाल वायुसेवा निगम तथा नेपालमा सञ्चालनमा रहेका निजी विमान सेवा प्रदायक कम्पनीका प्रतिनिधि, निर्देशक र महाशाखा प्रमुखहरूको सहभागिता रहेको छ ।
छलफलमा कर्णाली प्रदेशमा हालसम्म निर्माण भएका विमानस्थल सञ्चालनमा ल्याउने, हवाई सेवा सञ्चालनका क्रममा देखिएका समस्या तथा चुनौती समाधान गर्ने र सम्भावना भएका स्थानबाट उडान सञ्चालन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको सचिवालयले जनाएको छ।
कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा हवाई सेवा सञ्चालनलाई सहज बनाउने, विमानस्थलको प्रभावकारी उपयोग गर्ने तथा नियमित उडानका सम्भावनालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल केन्द्रित रहेको सचिवालयले जनाएको छ।
छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराम पोखरेलले हवाई सेवा सञ्चालनसँग सम्बन्धित समस्या समाधान गरी छिट्टै निकास निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको सचिवालयले जनाएको छ।
भौगोलिक विकटताका कारण यातायातको सहज पहुँचबाट टाढा रहेका कर्णालीका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार हुन सके नागरिकको आवागमन सहज हुनुका साथै पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
कर्णालीका विमानस्थल सञ्चालनमा ल्याउने र हवाई सेवालाई प्रभावकारी बनाउने विषयमा भएको यस पहलले सकारात्मक परिणाम दिने विश्वास गरिएको छ।