२०८३ कात्तिक १० , सोमबार

एनपीएलको रौनक अब सुर्खेतको घण्टाघरमा



जगदिश शाही

सुर्खेत। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु भएसँगै सुर्खेतमा पनि प्रतियोगिताको रौनक बढ्ने भएको छ। वीरेन्द्रनगरस्थित घण्टाघरमा एनपीएलका सम्पूर्ण खेल निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। स्टिम इनर्जी ड्रिङ्क्सले खेलप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताको रोमाञ्च अनुभव गर्ने अवसर प्रदान गर्न लागेको हो।

स्टिम इनर्जी ड्रिङ्क्स आयोजक कर्णालीका राजेश पौडेल ‘तिलक’ले एनपीएलका खेल हेर्न घण्टाघरमा उपस्थित हुन सम्पूर्ण क्रिकेटप्रेमीलाई आग्रह गरेका छन्। उनले सामूहिक रूपमा खेल हेर्ने, आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्ने र प्रतियोगिताको उत्साह साटासाट गर्ने उद्देश्यले घण्टाघरमा उपस्थित हुन आह्वान गरेका हुन्।

एनपीएलअन्तर्गत आज दिउँसो ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेलका लागि त्रिवि क्रिकेट मैदान तयार पारिएको छ। घण्टाघरमा हुने प्रत्यक्ष प्रसारणले सुर्खेतका क्रिकेटप्रेमीलाई पनि खेलको प्रत्यक्ष रोमाञ्च अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

प्रतियोगितामा कर्णाली याक्ससहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। घण्टाघरमा हुने निःशुल्क प्रत्यक्ष प्रसारणले वीरेन्द्रनगरमा क्रिकेटको माहोल सिर्जना गर्नुका साथै स्थानीय दर्शकको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

आयोजकले एनपीएलका खेल हेर्न तथा आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न सम्पूर्ण क्रिकेटप्रेमीलाई घण्टाघरमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार