सिद्धदर्शन संवाददाता
सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, बरीपाटीकी ५५ वर्षीया आशा बुढा रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, गएराति ११ः४५ बजे लेकबेसी नगरपालिका–१०, झुप्रास्थित सडकमा दुर्घटना भएको हो। लेकबेसीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले बुढालाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बुढालाई तत्काल उपचारका लागि माया नर्सिङ होम अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई प्रदेश अस्पताल हुँदै थप उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम लगिएको थियो।
तर, उपचारकै क्रममा बिहान ७ः२० बजे उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार मोटरसाइकल लेकबेसी नगरपालिका–१० का १७ वर्षीय मनोज आचार्यले चलाएका थिए। दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।