जगदिश शाही
सुर्खेत । अभिभावकविहीन, अनाथ तथा असहाय बालबालिकाको संरक्षण र उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्य निर्माणमा सक्रिय कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगर–४, सुर्खेतको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले साधारणसभाको उद्घाटन गर्दै संस्थाले सरकारले गर्नुपर्ने महत्वपूर्ण सामाजिक दायित्व पूरा गरिरहेको भन्दै संस्थाको प्रसंशा गरे।
उनले संस्थाको संरचना, व्यवस्थापन, भौतिक पूर्वाधार, बालमैत्री वातावरण, आवासीय व्यवस्था तथा सेवा प्रवाहको समग्र प्रणाली उदाहरणीय रहेको बताउँदै आगामी दिनमा संस्थालाई सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विशेषगरी अभिभावकविहीन, अनाथ तथा असहाय बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य र भविष्य निर्माणका क्षेत्रमा संस्थाले पुर्याएको योगदान प्रशंसनीय र अनुकरणीय रहेको उहाँले उल्लेख गरे।
मुख्यमन्त्री शाहीले भने एउटा सामाजिक संस्थाले यति जिम्मेवारी, निष्ठा र समर्पणका साथ गरिरहेको देख्दा हामीलाई गर्व लागेको छ। बालबालिकाको हितमा कोपिला भ्यालीले पुर्याएको योगदानका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दछौँ। उनले संस्थाको आगामी यात्रा अझ सफल र प्रभावकारी बनोस् भन्दै शुभकामना व्यक्त गरे।
सन् २०१४ मा अमेरिकी नागरिक मार्गरेट डायोन र नेपाली नागरिक टोप बहादुर मल्लबीच भारतमा भएको भेटपछि नेपालमा कोपिला भ्याली सेवा समाज स्थापना गर्ने प्रारुप तयार भएको थियो। नेपालका बालबालिकाको दुरावस्थाबारे जानकारी पाएपछि उनीहरू नेपाल आएर काम सुरु गरेका थिए। शिक्षा, स्वास्थ्य अनि गाँस, बास र कपासबाट वञ्चित तथा सडकमा जीवन बिताइरहेका बालबालिकाको अवस्था प्रत्यक्ष देखेपछि डायोन र मल्लले नेपालमै बसेर सेवा गर्ने संकल्प गर्दै संस्था स्थापना गरेका थिए। भारतको भेटबाट सुरु भयो । ‘कोपिलाको यात्रा’ संस्थाको स्थापनाको पृष्ठभूमिबारे प्रमुख निर्देशक टोप बहादुर मल्लले जानकारी दिनुभयो।
गत आर्थिक बर्षमा कोपिला भ्यालीले बालगृहमार्फत ५७ जना अभिभावकविहीन तथा आवश्यकतामा रहेका बालबालिकालाई सुरक्षित र पारिवारिक वातावरणसहित आवास, शिक्षा, स्वास्थ्य, भोजन तथा मनोसामाजिक हेरचाह प्रदान गरेको छ। कोपिला भ्याली विद्यालयमार्फत नर्सरीदेखि कक्षा १२ सम्मका ४ सय ५३ विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिएको छ।
नर्सरी देखी कक्षा १२ सम्म ४५३ विद्यार्थी निःशुल्क शिक्षा प्रदान गर्नु भएको छ। विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोसाक, पौष्टिक दिवा खाजा, स्वास्थ्य तथा मनोसामाजिक सेवा र यातायात सुविधा उपलब्ध गराइएको संस्थाले जनाएको छ। स्वास्थ्य केन्द्र सेवाबाट २ हजार १९ जना लाभान्वित भएका छन् भने ४ सय ६७ जना विद्यार्थीलाई पोषण योजना तथा पौष्टिक खाना उपलब्ध गराइएको संस्थाका सदस्य धर्मराज शाहीले जानकारी दिए।
विद्यार्थीको भविष्य निर्माणका लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई पेसागत परामर्श तथा मार्गदर्शन प्रदान गर्नुका साथै उच्च शिक्षाका लागि छात्रवृत्ति सहयोगसमेत गरिएको शाहीले जानकारी दिए। उनकाअनुसार कक्षा ११ र १२ तथा प्राविधिक डिप्लोमाका लागि ४९ जना र स्नातक तहका १२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
महिला सशक्तीकरण कार्यक्रममार्फत ८२ जना महिलालाई सीपमूलक तालिम प्रदान गरिएकोमा ४२ जना रोजगारी तथा स्वरोजगारीमा आबद्ध भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा गत वर्ष कोपिला भ्याली विद्यालयले डिजिटल शिक्षा सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२५ प्राप्त गर्नुका साथै विद्यालयको फुटसल टोलीले अन्तरविद्यालय प्रतियोगितामा प्रथम स्थान हासिल गरेको उल्लेख गरेको छ।
सभामा संस्थाका अध्यक्ष गोगन बहादुर मल्लले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। गत आर्थिक वर्ष २०८२र०८३ मा संस्थाको विनियोजित बजेट रु। २५ करोड ८९ लाख ४९ हजार ८८१ रहेकोमा रु। २३ करोड ६२ लाख ४५ हजार ७२७ रुपैयाँ ६७ पैसा खर्च भएको र वित्तीय प्रगति ९१।२३ प्रतिशत रहेको जनाइएको छ।
साधारण सभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि नियमित कार्यक्रमलाई निरन्तरता दिँदै बालबालिकाका लागि थप यातायात सुविधा उपलब्ध गराउन विद्यालय बस खरिद गर्ने, कार्यक्रम हल निर्माण गर्ने, खेलमैदान व्यवस्थापन गर्ने तथा सामाजिक परीक्षण र लेखापरीक्षण गर्ने लगायतका योजना अघि सारेको छ।
कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष गोगन बहादुर मल्लले सम्पूर्ण शुभेच्छुक र उपस्थितहरुलाई आभार व्यक्त गर्दै संस्थाको अभियानलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।