जगदिश शाही
सुर्खेत । नेपाल समाचारपत्र राष्ट्रिय दैनिककी सुर्खेत संवाददाता तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाकी उपाध्यक्ष सिर्जना बुढाथोकी डाँगी ‘कर्णाली समावेशी पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ।
कर्णाली प्रदेश स्थापना दिवस तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै डाँगीलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो।
१३ वर्षदेखि पत्रकारितामा सक्रिय डाँगीले कर्णालीका समसामयिक विषय, सामाजिक सरोकार तथा जनताका सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आउनुभएको छ। पत्रकारितामा उहाँको योगदान र सक्रियताको मूल्यांकन गर्दै प्रदेश सरकारले उक्त पुरस्कार प्रदान गरेको हो।
सम्मान प्राप्त गरेपछि डाँगीले आफूले प्राप्त गरेको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पत्रकारिताको धर्म, दायित्व र निष्पक्ष आवाजप्रतिको सम्मानका रूपमा लिएको बताउनुभयो।
उहाँले पुरस्कारका लागि कर्णाली प्रदेश सरकार तथा छनोट समितिप्रति आभार व्यक्त गर्दै आफ्नो पत्रकारिता यात्रामा साथ, सहयोग र मार्गदर्शन गर्ने अग्रज, सहकर्मी तथा परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
डाँगीलाई प्राप्त यस सम्मानले कर्णालीमा सक्रिय पत्रकारहरूलाई थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।