सिद्धदर्शन संवाददाता
पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले उहाँसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार राति सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगन्जस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अध्यक्ष यादव गाउँपालिकाको ना।१ झ १६८७ नम्बरको सरकारी स्कर्पियो प्रयोग गरेर क्यासिनो पुगेका थिए। सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको विषयलाई समेत प्रहरीले अनुसन्धानको दायरामा राखेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ।
विशेष अभियानका क्रममा क्यासिनोबाट नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूमाथि समेत प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।