२०८३ भदौ २४ , बुधबार

सुर्खेतमा ‘जेन्जी चोक’ घोषणा



जगदिश शाही
सुर्खेत । जेन्जी विद्रोहका उपलब्धिलाई संस्थागत गर्दै शहीद तथा घाइतेको योगदानको सम्मान गर्नुपर्नेमा जेन्जी परिषद्, कर्णाली प्रदेशका संयोजक प्रकाश खड्काले जोड दिएका छन्।

सुर्खेतको घण्टाघर परिसरमा मंगलबार आयोजित ‘जेन्जी विद्रोह-के पायौँ, के गुमायौँ’ विषयक कार्यक्रममा बोल्दै खड्काले जेन्जी विद्रोह युवाको असन्तुष्टिको अभिव्यक्ति मात्र नभई राज्यसँग जवाफदेहिता, सुशासन र परिवर्तनको माग गरिएको आन्दोलन भएको बताए। सरकार र जेन्जीबीच भएको सम्झौताका हस्ताक्षरकर्तासमेत रहेका खड्काले आन्दोलनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै अब प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए। “विद्रोहमा ठूलो क्षति भएको छ। धेरै युवाले आफ्नो जीवन र भविष्य जोखिममा राखेका छन्। अब आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शहीद तथा घाइतेको योगदानको सम्मान गर्नु र युवाका सवाललाई राज्यको नीति निर्माणसँग जोड्नु आवश्यक छ,” उनले भने।

सोही अवसरमा खड्काले घण्टाघर नजिक रहेको गोलो घेरा भएको स्थानलाई ‘जेन्जी चोक’ घोषणा गर्दै बोर्ड अनावरण गरेका थिए।

कार्यक्रममा आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सन्तोष बोहराले पनि आफ्नो अनुभव र धारणा राखे। उनले आन्दोलनका क्रममा घाइते तथा प्रभावित भएका युवाको योगदानलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।बोहराले आफूजस्ता घाइतेको उपचार, पुनःस्थापना र भविष्यका विषयमा राज्यले जिम्मेवारी लिनुपर्ने धारणा राखे। आन्दोलनमा युवाले व्यहोरेको क्षतिलाई परिवर्तनका लागि चुकाएको मूल्यका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा जेन्जी प्रतिनिधि टेक चन्द खड्काले आन्दोलनले युवाको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको बताए। अब आन्दोलनबाट उठेका सवाललाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने भन्दै उनले युवाको सहभागिता र नेतृत्वबिना अपेक्षित परिवर्तन सम्भव नहुने धारणा राखे।

नेपाली कांग्रेसका तर्फबाट सहभागी देवकुमार सुवेदीले युवाले उठाएका जायज सवाललाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए। लोकतान्त्रिक अभ्यासमार्फत युवाको आवाजलाई राज्य सञ्चालनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सहभागी हरि कँडेलले जेन्जी विद्रोहले पुरानो राजनीतिक सोच र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए। युवाको अपेक्षा सम्बोधन गर्न सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमै लागू गर्नुपर्नेमा उनले जोड दिए।

नेकपाका नेता तुला तिरुवाले युवाको ऊर्जा र परिवर्तनको चाहनालाई सकारात्मक दिशामा प्रयोग गर्नुपर्ने बताए। आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै राजनीतिक तथा सामाजिक रूपान्तरणमा युवालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने उनको धारणा थियो।

जेन्जी परिषद्, कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा विद्रोहका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलनसमेत गरिएको थियो। कार्यक्रममा युवा, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन प्रभुराम पाण्डेले गरेका थिए। कार्यक्रममा जेन्जी विद्रोहका उपलब्धि, क्षति, वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।

प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार