२०८३ भदौ २३ , मंगलबार

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि सुर्खेत उद्योग वाणिज्य संघको ३ लाख सहयोग



जगदिश शाही
सुर्खेत । भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ।

संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउनुका साथै पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको संघले जनाएको छ।

संघका अध्यक्ष हर्षविक्रम खड्काले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको दायित्व भएकाले संघले आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो।

उहाँले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि संघले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो। संघले आर्थिक सहयोगसँगै लत्ताकपडा, खाद्यान्नलगायत आवश्यक राहत सामग्री समेत उपलब्ध गराउने जनाएको छ।

बाढीपहिरोका कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला सुर्खेत उद्योग वाणिज्य संघले पनि सहयोग गरेको हो।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार