
सुर्खेत । प्रधानमन्त्री बालेन्द्र शाहले हिजाे संसदमा दिएको अभिव्यक्ति प्रती सुर्खेतमा क्रियाशिल राजनीतिक दलहरुले गम्भीर आपत्ती जनाएका छन।
नेपाली कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेल, नेकपा (एमाले) सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्तकुमार विश्वकर्मा र नेकपा (माओवादी) का धर्मराज देवकोटा (जित सी) ले एक संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रियताको विषयमा कुनैपनि प्रकारको सम्झौता स्वीकार्य नहुने उल्लेख गरेका छन।
विज्ञप्तिमा शान्ति, संविधान, संघिय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका पक्षधर राजनीतिक दलहरुले विगतदेखि नै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएकाे विज्ञप्तिमा उल्लेख छ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित सीमा समस्या जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा व्यक्त गरेकाे “भारतीय भूमि पनि नेपालले मिचेको छ” भन्ने अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
नेपालको संसदबाट कुनै प्रमाण,तथ्य वा आधिकारिक आधार बिना व्यक्त गरिएको यस्तो भनाइले नेपालको राष्ट्रिय दाबी र कूटनीतिलाई कमजोर बनाउने जोखिम सिर्जना गरेको आराेप लगाईएकाे छ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा नेपालको अभिभाज्य अंग भएको विषय, ऐतिहासिक दस्तावेज, सन्धि, प्रमाण र संवैधानिक व्यवस्थाका आधारमा निरन्तर उठाउँदै आएको र नेपालको संविधानमा समेटिएको अद्यावधिक राष्ट्रिय नक्सा र त्यसलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको संसद्को निर्णयले समेत नेपालको स्पष्ट राष्ट्रिय अडानलाई स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति :

प्रधानमन्त्रीबाट नेपालको वैधानिक र ऐतिहासिक दाबीलाई नै अन्योलमा पार्ने प्रकृतिको अभिव्यक्ति आउनु राष्ट्रिय हितको दृष्टिले गम्भीर चिन्ताको विषय बनेको र
नेपालको कुनैपनि आधिकारिक नक्सा, ऐतिहासिक अभिलेख वा राज्यको आधिकारिक दस्तावेजले नेपालले भारतीय भूमि अतिक्रमण गरेको पुष्टि नगर्ने जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, युवा, विद्यार्थी लगायत आम जनसमुदायमा एकताका साथ राष्ट्रिय स्वाधिनताको पक्षमा उभिन आह्वान गरिएको छ।