२०८३ मंसिर ४ , बिहीबार

जुम्ला बजारबाट ब्राउन सुगरजस्तो पदार्थसहित दुई युवक पक्राउ



जगदिश  शाही

जुम्ला । जुम्लामा ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते दिउँसो चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्लीका २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनील कुमार शाही रहेका छन्।

प्रहरीका अनुसार दिउँसो करिब ४ः४५ बजे बजारमा हिँडिरहेका उनीहरूलाई शंकाका आधारमा जाँच गर्दा साथबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो। उक्त पदार्थलाई मान्यताप्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल १८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर सोही दिन जिल्ला अदालत जुम्लामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।

बरामद पदार्थको परीक्षणबाट लागूऔषध भएको पुष्टि हुन बाँकी रहेकाले त्यसको प्रकृति र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार