२०८३ मंसिर ४ , बिहीबार

कर्णालीका २० युवा मानव अधिकार रक्षकलाई सुरक्षा तालिम, समापनको तयारी



जगदिश शाही

सुर्खेत । मानव अधिकार संरक्षण तथा उल्लङ्घनका घटनाको निगरानी र खबरदारीमा सक्रिय कर्णालीका युवा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि र सुरक्षा सुदृढीकरणका लागि सञ्चालन गरिएको पाँचदिने तालिम अन्तिम चरणमा पुगेको छ।

ग्रामीण युवा अभियान नेपाल (रोयम नेपाल) को आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यमा सञ्चालित ‘युवा मानव अधिकार रक्षकका लागि समग्र सुरक्षा क्षमता अभिवृद्धि तालिम’ मा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट २० जना युवा सहभागी भएका छन्। प्रत्येक जिल्लाबाट दुई जनाका दरले सहभागी रहेको तालिम चौथो दिनमा पुगेको आयोजकले जनाएको छ।

कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने तालिममा मानव अधिकारको आधारभूत अवधारणा, मानव अधिकार रक्षकको भूमिका तथा जिम्मेवारी, उल्लङ्घनका घटनाको पहिचान, अनुगमन, तथ्य सङ्कलन, दस्तावेजीकरण र प्रतिवेदन लेखनलगायत विषयमा प्रशिक्षण दिइएको छ।

मानव अधिकारको पक्षमा काम गर्ने क्रममा रक्षकहरूले विभिन्न प्रकारका धम्की, दबाब, दुर्व्यवहार तथा अन्य जोखिम सामना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै तालिमको पाठ्यक्रम तयार गरिएको हो। यसअन्तर्गत शारीरिक, सामाजिक, कानुनी तथा डिजिटल जोखिमको पहिचान र विश्लेषण, व्यक्तिगत तथा संस्थागत सुरक्षा योजना निर्माण र सम्भावित संकटबाट बच्ने उपायबारे सहभागीलाई प्रशिक्षण दिइएको छ।

पछिल्लो समय महत्त्वपूर्ण बन्दै गएको डिजिटल सुरक्षालाई पनि तालिममा प्राथमिकताका साथ समेटिएको छ। सूचना तथा व्यक्तिगत विवरणको संरक्षण, डिजिटल जोखिम न्यूनीकरण, महिला मानव अधिकार रक्षकका चुनौती, मनोसामाजिक सुरक्षा, आत्महेरचाह तथा संकट व्यवस्थापनका विषयमा समेत व्यावहारिक अभ्यास गराइएको छ।

तालिमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी समूहगत छलफल, घटना विश्लेषण, भूमिकाअभिनय, जोखिम पहिचान तथा सुरक्षा योजना निर्माणजस्ता अभ्यासलाई प्राथमिकता दिइएको छ। यसबाट सहभागीहरूले वास्तविक कार्यक्षेत्रमा आइपर्न सक्ने चुनौतीको सामना गर्न आवश्यक ज्ञान र सीप प्राप्त गर्ने अपेक्षा गरिएको छ।

रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष बि.क.का अनुसार मानव अधिकार रक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा विभिन्न किसिमका जोखिम सामना गर्नुपर्ने भएकाले उनीहरूको व्यक्तिगत, संस्थागत, डिजिटल तथा मनोसामाजिक सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ। मानव अधिकार रक्षक सुरक्षित नभएसम्म मानव अधिकार संरक्षणको अभियान प्रभावकारी बनाउन कठिन हुने उनको भनाइ छ।

तालिमको अन्तिम दिन सहभागीहरूको सिकाइ मूल्याङ्कन, समग्र सुरक्षा अभ्यास, व्यक्तिगत तथा संस्थागत कार्ययोजना निर्माण तथा तालिम म्यानुअलको समीक्षा गरिने कार्यक्रम रहेको छ। साथै आगामी दिनमा मानव अधिकार संरक्षणका क्षेत्रमा निर्वाह गर्ने भूमिकाबारे प्रतिबद्धता व्यक्त गर्दै तालिम समापन गरिने आयोजकले जनाएको छ।

तालिमपछि सहभागी युवा मानव अधिकार रक्षकहरू मानव अधिकार उल्लङ्घनका घटनाको व्यवस्थित अनुगमन तथा अभिलेखीकरण, सम्भावित जोखिमको पूर्वपहिचान र न्यूनीकरण तथा चुनौतीपूर्ण परिस्थितिमा आफ्नो सुरक्षा कायम राख्दै प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न थप सक्षम हुने अपेक्षा गरिएको छ।

मानव अधिकार संरक्षणका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिहरूकै सुरक्षा र क्षमता अभिवृद्धिमा जोड दिइएको यस कार्यक्रमले कर्णाली प्रदेशमा मानव अधिकार संरक्षणको अभियानलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार