२०८३ मंसिर ४ , बिहीबार

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, उपचारका क्रममा २५ वर्षीय बोहराको मृत्यु



जगदिश शाही

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

बारेकोट गाउँपालिका–१ बयालास्थित काउली नजिक बुधबार अपराह्न करिब ४ बजे ट्र्याक्टर दुर्घटना हुँदा बारेकोट गाउँपालिका–३ का २५ वर्षीय सन्देश बोहराको मृत्यु भएको हो।

लिम्साबाट सक्लातर्फ जाँदै गरेको लु.प्र. ०३–००१ त ०१३० नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिएका छन्।

दुर्घटनामा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका थिए। घाइते बोहराको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बारेकोटका २८ वर्षीय राजेश बोहरा र २५ वर्षीय गोविन्द बोहराको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार