जगदिश शाही
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानिखोलामा एक व्यक्तिले आफ्नै श्रीमती र तीन छोराछोरीमाथि बन्चरो प्रहार गर्दा चारै जना गम्भीर घाइते भएका छन्।
मंसिर ५ गते बिहान करिब ९ः३५ बजे घरायसी विवादका क्रममा स्थानीय ३८ वर्षीय अम्बर सलामी मगरले दाउरा काट्ने बन्चरोले श्रीमती र छोराछोरीको टाउकोमा प्रहार गरेका हुन्।
प्रहरीका अनुसार घटनामा उनकी ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामी घाइते भएका छन्। चारै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु नगर अस्पताल पठाइएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हाँडाकोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब तीन किलोमिटरको दूरीमा रहेको बताइएको छ।
घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।