२०८३ मंसिर ६ , शनिबार

मध्यपश्चिम विश्वविद्यालयमा १२० नयाँ इन्जिनियरिङ विद्यार्थी भर्ना



जगदिश शाही

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ स्नातक तहमा भर्ना भएका १२० जना नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ।

विश्वविद्यालयको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङअन्तर्गत सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागले शुक्रबार नवआगन्तुक विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेका हुन्।

शैक्षिक सत्र २०८३/०८४ का लागि भर्ना भएका विद्यार्थीमध्ये बीई सिभिल इन्जिनियरिङमा ९६ र बीई कम्प्युटर इन्जिनियरिङमा २४ जना रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका डीन सहप्राध्यापक डा. दिपकराज अधिकारीले इन्जिनियरिङ शिक्षा ज्ञान, सीप, सिर्जनशीलता र नवप्रवर्तनसँग जोडिएको क्षेत्र भएकाले विद्यार्थीले सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक दक्षता र अनुसन्धानमुखी सोच विकास गर्नुपर्नेमा जोड दिए।

अभिमुखीकरणका क्रममा विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाही, उपप्राध्यापकद्वय ई. गोविन्द खत्री र ई. प्रविन भुसालले विश्वविद्यालयका नीति तथा नियम, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली, प्रयोगात्मक अभ्यास, अनुसन्धान र इन्जिनियरिङ क्षेत्रका व्यावसायिक सम्भावनाबारे जानकारी गराएका थिए।

सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका प्रमुख ई. शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका निमित्त प्रमुख उपप्राध्यापक वसन्तकुमार रेग्मीले स्वागत मन्तव्य राखेका थिए। विश्वविद्यालयका प्रशासन अधिकृत शेरबहादुर केसीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते शनिबार